सहकारी ठगीमा ६ सय ६९ थुनामा, १ हजार ५ सय ४० फरार


सहकारी ठगी नेपालमा कति भयावह छ भन्ने यसमा संलग्न आरोपीहरू पक्राउ परेको तथ्यांकबाटै खुलस्त हुन्छ । करिब एक दशकमा ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । धेरैजसो पैसावाल र शक्तिशाली हुन् तर, पक्राउ परेका सबैजसो पुर्पक्षका लागि जेलमा छन् ।

संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि गरेको सिफारिसअनुसार नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारी ठगिएको रकम, हाल चलिरहेका मुद्दा र भएका फैसलाको विश्लेषण गरिएको छ ।

२४ हजार २ सय २४ जना पीडित सर्वसाधारणले दिएका २ सय ५८ उजुरीका आधारमा प्रहरीले ६ सय ६९ जनालाई पक्राउ गरेको हो । यही बीचमा १ हजार ५ सय ४० भने फरार छन् । यी उजुरीमा प्रहरी अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि १ सय ११ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा १ हजार ३ सय ९१ जनालाई अभियुक्त बनाइएको छ । अदालत पुगेका मुद्दामा १ अर्ब ९० करोड ४६ लाख बिगो कायम गरिएको छ । सहकारी ठगीमा ३५ वटा मुद्दामा सजाय तोकिएको छ भने ५८ मुद्दा अहिले विचाराधीन छन् । कतिपय मुद्दा पुनरावेदनका लागि सरकारी वकिलको कार्यालयमा छन् ।

सहकारीको ६५ करोड ५४ लाख गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएको आरोपमा कम्पनीका सञ्चालक जोशी पक्राउ परेका हुन् । गोर्खा मिडियासँग जोडिएका पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीका सञ्चालकहरू यसअघि नै पक्राउ परी जेलमा छन् ।

सुप्रिम सहकारीको बचत अपचलनमा पक्राउ परेका अध्यक्ष ओमप्रकाश गुरुङ हाल भैरहवा कारागारमा छन् । सहकारी छानबिन समितिले उनलाई कारागारबाटै काठमाडौं झिकाएर बयान लिएको थियो । सुप्रिम सहकारीबाट गोर्खा मिडियामा पैसा लग्ने जीबी राई सोही सहकारीको समेत सञ्चालक रहेको र रवि लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री नै रहेको बयान उनले दिएका छन् । यो सहकारीबाट मात्रै १ अर्ब ३ करोड ५९ लाख हिनामिना भएको छ ।

लामिछानेको खातामा पैसा पठाउने सुप्रिम बचत तथा ऋण सहकारीकी क्यासियर रोशनी गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनलाई रूपन्देही जिल्ला अदालतले २ लाख धरौटीमा छाडेको छ, मुद्दा धाइरहेकी छन् ।

यस्तै, पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक तथा गोर्खा मिडिया प्रालिका सञ्चालक कुमार रम्तेल पनि अहिले कास्की कारागारमा छन् । उनले बुटवलको सुप्रिम सहकारीबाट रकम निकालेर रवि लामिछानेका नाममा रहेको कर्जाको किस्तासमेत तिरिदिएका थिए । ‘मैले चिनेका र सहकारीबाट ऋण लिएका रवि लामिछाने पूर्वगृहमन्त्री नै हुन्, उनीबाहेक मैले अरू रवि लामिछाने चिनेको छैन,’ उनले बयानमा भनेका छन् । लामिछाने राजनीतिमा जान गोर्खा मिडियाबाट बिदा भएपछि रम्तेल गोर्खा मिडियाको सञ्चालकका रूपमा भित्रिएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) र सो सहकारीका सफ्टवेयर डेभलपर भविश्वर अर्याल पनि थुनामा छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको १ अर्ब ३५ करोड ४९ लाख हिनामिना भएको छ ।

सहकारी मात्र होइन, सिभिल बैंक नै सञ्चालन गरेका पूर्वसांसद इच्छाराज तामाङ पनि अहिले डिल्लीबजार कारागारमा छन् । तामाङले सिभिल सहकारीमा सर्वसाधारणले जम्मा गरेको करिब ८ अर्ब अपचलन गरेको अभियोगमा सजाय तोकिएको छ । उनी सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर भएका छन् ।

काठमाडौंको कुनै बेलाको चर्चित कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था) का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र सञ्चालक चन्द्रबहादुर (सीबी) लामा अहिले डिल्लीबजार कारागारमा छन् । यो सहकारीबाट करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको छ । लामा पशुपति सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् । उनी २०७० को संसदीय निर्वाचनमा काभ्रेबाट कांग्रेस उम्मेदवार पनि थिए ।

राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती डिल्लीबजार कारागारमा छन् । यो संस्थाबाट बचतकर्ताको ६ अर्ब २६ करोड ८५ लाख बचत अपचलन भएको छ । उनी एमालेको केन्द्रीय सहकारी विभागमा सक्रिय थिए ।

यस्तै, सहकारीको बचत दुरुपयोगमा संलग्न भएको आरोपमा नवलपरासी (सुस्ता पूर्व) को छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारीका सञ्चालक नागेन्द्रबहादुर रिमाल अहिले जेलमा छन् । हाल चितवन कारागारमा रहेका रिमाललाई पनि काठमाडौं झिकाएर संसदीय छानबिन समितिले बयान लिएको थियो । छिपछिपे सहकारीबाट मात्र बचतकर्ताको १० करोड २२ लाख हिनामिना भएको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल हाल कास्की कारागारमा छन् । यो सहकारीबाट बचतकर्ताको १८ करोड दुरुपयोग भएको छ । सहकारीको बचत दुरुपयोग गरेको आरोपमा पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ पनि यति बेला कास्की जेलमा छन् ।

बचत हिनामिनामा संलग्न भएको आरोपमा पोखराको प्राइम सहकारी अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रमणि पौडेललाई अदालतले कास्की कारागार पठाएको छ । यो सहकारीबाट बचतकर्ताको ५९ करोड ७२ लाख हिनामिना भएको छ ।

नागरिक विकास सहकारीका अध्यक्ष नुनम सुब्बा ललितपुरको नख्खु जेलमा छन् । त्यस्तै, तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र शिवशिखर सहकारी संस्थाकी सञ्चालक गीता शर्मा केन्द्रीय कारागार, जगन्नाथ देवलमा छन् । शिवशिखरका बचतकर्ताको ९ अर्ब ५८ करोड ७४ लाख र तुलसी सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ४३ करोड ५४ लाख हिनामिना भएको छ ।

भक्तपुरको कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा नख्खु जेलमा छन् । यो सहकारीबाट २ अर्ब ७८ करोड ७५ लाख बचत हिनामिना भएको छ । सहकारीको बचत दुरुपयोग आरोपमा कल्याण उपकार सहकारीका अध्यक्ष लीलाबहादुर (एलबी) गुरुङ र देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पनि नख्खु कारागारमा छन् । आर्जन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दलबहादुर आले केन्द्रीय कारागारमा छन् ।

यसैगरी, सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा १ हजार ५ सय ४० जना फरार छन् । तीमध्ये सूर्यदर्शन सहकारीका गितेन्द्रबाबु (जीबी) राई, सुप्रिमका सागर केसी, सुमेरुका भरत महर्जन र उनको परिवार, सूर्यदर्शन सहकारीकै ज्ञानबहादुर बमजन, बागलुङको इमेज सहकारीका देवकुमार नेपालीलगायतका व्यक्ति देशबाहिर रहेको अनुमान छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...