सहकारी ठगीमा ६ सय ६९ थुनामा, १ हजार ५ सय ४० फरार


सहकारी ठगी नेपालमा कति भयावह छ भन्ने यसमा संलग्न आरोपीहरू पक्राउ परेको तथ्यांकबाटै खुलस्त हुन्छ । करिब एक दशकमा ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । धेरैजसो पैसावाल र शक्तिशाली हुन् तर, पक्राउ परेका सबैजसो पुर्पक्षका लागि जेलमा छन् ।

संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि गरेको सिफारिसअनुसार नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारी ठगिएको रकम, हाल चलिरहेका मुद्दा र भएका फैसलाको विश्लेषण गरिएको छ ।

२४ हजार २ सय २४ जना पीडित सर्वसाधारणले दिएका २ सय ५८ उजुरीका आधारमा प्रहरीले ६ सय ६९ जनालाई पक्राउ गरेको हो । यही बीचमा १ हजार ५ सय ४० भने फरार छन् । यी उजुरीमा प्रहरी अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि १ सय ११ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा १ हजार ३ सय ९१ जनालाई अभियुक्त बनाइएको छ । अदालत पुगेका मुद्दामा १ अर्ब ९० करोड ४६ लाख बिगो कायम गरिएको छ । सहकारी ठगीमा ३५ वटा मुद्दामा सजाय तोकिएको छ भने ५८ मुद्दा अहिले विचाराधीन छन् । कतिपय मुद्दा पुनरावेदनका लागि सरकारी वकिलको कार्यालयमा छन् ।

सहकारीको ६५ करोड ५४ लाख गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएको आरोपमा कम्पनीका सञ्चालक जोशी पक्राउ परेका हुन् । गोर्खा मिडियासँग जोडिएका पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीका सञ्चालकहरू यसअघि नै पक्राउ परी जेलमा छन् ।

सुप्रिम सहकारीको बचत अपचलनमा पक्राउ परेका अध्यक्ष ओमप्रकाश गुरुङ हाल भैरहवा कारागारमा छन् । सहकारी छानबिन समितिले उनलाई कारागारबाटै काठमाडौं झिकाएर बयान लिएको थियो । सुप्रिम सहकारीबाट गोर्खा मिडियामा पैसा लग्ने जीबी राई सोही सहकारीको समेत सञ्चालक रहेको र रवि लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री नै रहेको बयान उनले दिएका छन् । यो सहकारीबाट मात्रै १ अर्ब ३ करोड ५९ लाख हिनामिना भएको छ ।

लामिछानेको खातामा पैसा पठाउने सुप्रिम बचत तथा ऋण सहकारीकी क्यासियर रोशनी गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनलाई रूपन्देही जिल्ला अदालतले २ लाख धरौटीमा छाडेको छ, मुद्दा धाइरहेकी छन् ।

यस्तै, पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक तथा गोर्खा मिडिया प्रालिका सञ्चालक कुमार रम्तेल पनि अहिले कास्की कारागारमा छन् । उनले बुटवलको सुप्रिम सहकारीबाट रकम निकालेर रवि लामिछानेका नाममा रहेको कर्जाको किस्तासमेत तिरिदिएका थिए । ‘मैले चिनेका र सहकारीबाट ऋण लिएका रवि लामिछाने पूर्वगृहमन्त्री नै हुन्, उनीबाहेक मैले अरू रवि लामिछाने चिनेको छैन,’ उनले बयानमा भनेका छन् । लामिछाने राजनीतिमा जान गोर्खा मिडियाबाट बिदा भएपछि रम्तेल गोर्खा मिडियाको सञ्चालकका रूपमा भित्रिएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) र सो सहकारीका सफ्टवेयर डेभलपर भविश्वर अर्याल पनि थुनामा छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको १ अर्ब ३५ करोड ४९ लाख हिनामिना भएको छ ।

सहकारी मात्र होइन, सिभिल बैंक नै सञ्चालन गरेका पूर्वसांसद इच्छाराज तामाङ पनि अहिले डिल्लीबजार कारागारमा छन् । तामाङले सिभिल सहकारीमा सर्वसाधारणले जम्मा गरेको करिब ८ अर्ब अपचलन गरेको अभियोगमा सजाय तोकिएको छ । उनी सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर भएका छन् ।

काठमाडौंको कुनै बेलाको चर्चित कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था) का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र सञ्चालक चन्द्रबहादुर (सीबी) लामा अहिले डिल्लीबजार कारागारमा छन् । यो सहकारीबाट करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको छ । लामा पशुपति सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् । उनी २०७० को संसदीय निर्वाचनमा काभ्रेबाट कांग्रेस उम्मेदवार पनि थिए ।

राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती डिल्लीबजार कारागारमा छन् । यो संस्थाबाट बचतकर्ताको ६ अर्ब २६ करोड ८५ लाख बचत अपचलन भएको छ । उनी एमालेको केन्द्रीय सहकारी विभागमा सक्रिय थिए ।

यस्तै, सहकारीको बचत दुरुपयोगमा संलग्न भएको आरोपमा नवलपरासी (सुस्ता पूर्व) को छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारीका सञ्चालक नागेन्द्रबहादुर रिमाल अहिले जेलमा छन् । हाल चितवन कारागारमा रहेका रिमाललाई पनि काठमाडौं झिकाएर संसदीय छानबिन समितिले बयान लिएको थियो । छिपछिपे सहकारीबाट मात्र बचतकर्ताको १० करोड २२ लाख हिनामिना भएको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल हाल कास्की कारागारमा छन् । यो सहकारीबाट बचतकर्ताको १८ करोड दुरुपयोग भएको छ । सहकारीको बचत दुरुपयोग गरेको आरोपमा पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ पनि यति बेला कास्की जेलमा छन् ।

बचत हिनामिनामा संलग्न भएको आरोपमा पोखराको प्राइम सहकारी अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रमणि पौडेललाई अदालतले कास्की कारागार पठाएको छ । यो सहकारीबाट बचतकर्ताको ५९ करोड ७२ लाख हिनामिना भएको छ ।

नागरिक विकास सहकारीका अध्यक्ष नुनम सुब्बा ललितपुरको नख्खु जेलमा छन् । त्यस्तै, तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र शिवशिखर सहकारी संस्थाकी सञ्चालक गीता शर्मा केन्द्रीय कारागार, जगन्नाथ देवलमा छन् । शिवशिखरका बचतकर्ताको ९ अर्ब ५८ करोड ७४ लाख र तुलसी सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ४३ करोड ५४ लाख हिनामिना भएको छ ।

भक्तपुरको कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा नख्खु जेलमा छन् । यो सहकारीबाट २ अर्ब ७८ करोड ७५ लाख बचत हिनामिना भएको छ । सहकारीको बचत दुरुपयोग आरोपमा कल्याण उपकार सहकारीका अध्यक्ष लीलाबहादुर (एलबी) गुरुङ र देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पनि नख्खु कारागारमा छन् । आर्जन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दलबहादुर आले केन्द्रीय कारागारमा छन् ।

यसैगरी, सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा १ हजार ५ सय ४० जना फरार छन् । तीमध्ये सूर्यदर्शन सहकारीका गितेन्द्रबाबु (जीबी) राई, सुप्रिमका सागर केसी, सुमेरुका भरत महर्जन र उनको परिवार, सूर्यदर्शन सहकारीकै ज्ञानबहादुर बमजन, बागलुङको इमेज सहकारीका देवकुमार नेपालीलगायतका व्यक्ति देशबाहिर रहेको अनुमान छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...