सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल



काठमाडौँ
प्रतिनिधिसभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ । सांसदको प्रमुख काम कानुन निर्माणकै लागि बसेको बैठकमा अधिकांशको अनुपस्थिति देखिएपछि संसद्को प्रभावकारितामाथि समेत प्रश्न उठेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या पुगेन । दिउँसो १ बजे बैठक सुरु हुँदा २ सय २३ सांसद उपस्थित थिए । राति सवा ८ः०५ मा सभामुख डीपी अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । विचार गरियोस् भन्ने प्रस्ताव पारित गरियोस् भन्ने पक्षमा रहेका सांसदले हात उठाएर ‘हुन्छ’ भनिसकेका थिए । जब विपक्षमा रहेका सांसदहरूको धारणा माग गरियो, प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निश्कल राईले गणपूरक संख्या यकिन हुनुपर्ने भन्दै संवैधानिक प्रश्न उठाए ।

सभामुखले तीन मिनेट घण्टी बजाएर सांसद गणना गर्दा ६१ जना मात्रै उपस्थित थिए । ‘संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुनेछैन,’ संविधानको धारा ९४ मा भनिएको छ ।
विधेयक निर्णयार्थ पेस गर्नका लागि कम्तीमा ६९ सांसद बैठकमा उपस्थित हुनुपर्ने थियो । तर झन्डै दुईतिहाइ अर्थात् १ सय ८२ सांसद भएको रास्वपाका एक जना मन्त्रीसहित ५२ जना थिए भने ९२ सांसद भएको विपक्षी बेन्चमा प्रश्न उठाउने कांग्रेस सचेतक राईसहित ८ जना मात्रै थिए ।

बैठकमा गणपूरक संख्या अपुग भएसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सदनसमक्ष राखेको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव आगामी १ भदौको बैठकमा निर्णयार्थ पेस हुने भएको छ ।

प्रतिनिधिसभामा सभामुखबाहेक सत्तापक्षमा १ सय ८२ सांसद छन् । जसमा रास्वपाका १ सय ८१ र स्वतन्त्र एक जना सांसद छन् । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री छन् । सत्तापक्षबाट प्रधानमन्त्री वालेन्द्र शाहसहित १७ मन्त्री छन् । संसद् बैठक चल्नका लागि कम्तीमा एक मन्त्रीको उपस्थिति अनिवार्य छ, जुन जिम्मेवारी पूरा गर्न आफ्नै मन्त्रालयको विधेयक भएकाले मंगलबारको बैठकमा मन्त्री गौरी कुमारी उपस्थित थिइन् । गणपूरक संख्यामा मन्त्री र उपसभामुखको पनि गणना हुन्छ । मंगलबारको बैठकमा उपसभामुख रुवी कुमारी अन्तिमसम्म बसेकी थिइन् ।
विपक्षी बेन्चमा प्रमुख प्रतिपक्षी कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । मंगलबार बैठकको अन्तिम समयसम्म कांग्रेसका निश्कल राई, विष्णुबहादुर खड्का, नरेन्द्रकुमार केरुङ र निनुकुमारी कर्ण उपस्थित थिए भने नेकपाका रमेश मल्ल, गोपाल शर्मा र निराशा चौधरी थिए । श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बू उपस्थित थिए । एमाले र राप्रपाका भने एक जना सांसद पनि बैठकको अन्तिमसम्म बसेनन् ।

झन्डै दुईतिहाइ सिट जितेर सरकार र संसद्मा महत्त्वपूर्ण उपस्थिति देखाएको रास्वपामा पहिलो पटक गणपूरक संख्या नपुगेर विधेयक नै अगाडि नबढेपछि त्यसको दोषी को हो भनेर खोजी हुन थालेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सचेतक क्रान्तिशिखा धितालले रास्वपा सांसदहरूको ह्वाट्सएप ग्रुपमा यसै सम्बन्धमा सबैलाई आत्मसमीक्षा गर्न भनेकी थिइन् । ‘आज सदनमा गणपूरक संख्या नपुग्नुको दोष सबै सांसदलाई जाला । प्रतिपक्षी उपस्थिति पनि निकै कम थियो । तर मुख्य जिम्मेवारी हामीले लिनुपर्छ । सचेतकको हैसियतले म पनि आत्मसमीक्षा गर्नेछु यस परिस्थितिलाई,’ धितालले लेखेकी थिइन्, ‘सबै माननीयज्यूहरूलाई मेरो अनुरोध छ– यो आज अचानक सिर्जित परिस्थिति होइन । हाम्रो अग्रणी नेतृत्वमा रहेका माननीयज्यू, हामी सबैले सदनको गरिमा, यो अमूल्य समयको महत्त्वलाई ठीक ढंगले ग्रहण गर्न असमर्थ भएकैले आजको स्थिति आएको हो ।’

सांसदको हैसियतमा नियमित रूपमा संसदीय गतिविधिमा कति संलग्न भइरहेको हो भन्ने विषय आफैंले बोध गर्न आग्रह गर्दै सचेतक धितालले सत्तापक्षले गणपूरक संख्या नपुर्‍याएको विषयलाई असहज रूपमा लिएको पनि लेखेकी थिइन् । ‘हाम्रा अरू प्राथमिकता पन्छाएर भए पनि सदनको महत्त्व बुझौं र नियमित उपस्थित हुने अवस्था निर्माण गरौं,’ धितालको आग्रह थियो ।

छुटाउनुभयो कि ?

सि जिनपिङको विकास मोडल: वर्ग विभेदसंगै चिनियाँ विशेषतासहितको समाजवाद

सि जिनपिङको विकास मोडल: वर्ग विभेदसंगै चिनियाँ विशेषतासहितको समाजवाद

श्रीराम ज्ञवालीचिनिका राष्ट्रपति सि जिनपिङको विकास मोडलमा चिनियाँ विशेषतासहितको समाजवादमा आधारित रहेर चीनलाई विश्वको विकसित र...
बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

काठमाडौँअविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...
सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

काठमाडौँप्रतिनिधिसभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ । सांसदको प्रमुख काम कानुन निर्माणकै लागि बसेको बैठक...
आजदेखि सोह्र श्राद्ध शुरुवात

आजदेखि सोह्र श्राद्ध शुरुवात

काठमाडौंप्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।आश्वि...