
बुटवल
राष्ट्रिय समाचार समिति (रासस)ले २४सै घण्टा सेवा दिने हुनाले यसको महत्व र प्रभावकारिता बढ्दै गएको पत्रकार लगायत सरोकारवालाहरूले बताएका छन् । उनीहरुले अन्य २४सै घण्टा सेवा दिने सञ्चार माध्यमहरू कमै रहेकोले यसको प्रभावकारिता बढ्दै जाने धारणा उनिहरुकाे छ।
राष्ट्रिय समाचार समिति राससको को ६४ औँ वार्षिक उत्सवका अवसरमा मङ्गलबार बुटबलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार लगायत सरोकारवाला हरुले अहिले स्रोतको अभावले गर्दा जनशक्तिलाई भन्दा राससकाे अनुमति लिई समाचार सम्प्रेषण गर्दा कम शुल्कमा ग्राहक बन्न र समाचार लिई सम्प्रेषण गर्न सहुलियत हुने हुनाले यसको महत्व र प्रभावकारिता बढ्दै गएको बताएका हुन्।
राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले २०१८ फागुन ७ गते प्रारम्भ भएको समिति अहिले ५ सय संचार माध्यमहरु ग्राहक भएको बताए । उनले देशभर २ सय पत्रकारले प्रत्यक्ष रोजगार पाएको र लुम्बिनी प्रदेशमा २५ जना रहेको बताए । केसीले देश र नागरिकको हकहितको लागि रासस कर्मीहरूले कहिल्यै सम्झौता नगर्ने र सबै सञ्चारकर्मीहरूलाई पनि संयमित हुन आग्रह गरे। उनले निर्वाचन लगायतका महत्वपूर्ण समयहरूमा समितिले द्रुत गतिमा समाचार सम्प्रेषण गरेको तथ्य प्रष्ट पारे।
बुटवलमा गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगर उपप्रमुख सावित्रा अर्यालले पत्रकारहरुले आफू लगायत जनप्रतिनिधिहरुले गरेका राम्रा अथवा नराम्रा सबै गतिविधिको सत्य -तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरिन् । उनले बुटवल उपमहानगर श्रमजीवी पत्रकारको हितमा लागिरहेको बताइन्। उनले देश र जनताको हितमा र समाजका व्यथिति चिर्न पत्रकार लाग्नुपर्ने बताइन्। आफूले बुटवल उपमहानगरमा स्वास्थ्य ,शिक्षा ,खानेपानी ,सडक पूर्वाधार लगायतका कामहरूमा प्राथमिकता राखी काम गरिरहेको बताइन्। अर्यालले नगरका नागरिकलाई शिप ,ज्ञान ,रोजगार प्रदान गरी आत्मनिर्भर बनाउन पालिका लागि रहेको बताइन् । उनले न्याय सम्पादन, राजस्व संकलन, बजार अनुगमन लगायतका कामहरुमा प्राथमिकता दिएको र पत्रकारहरुले साथ दिनुपर्ने बताइन्।
लुम्बिनी संचार समन्वय परिषदका अध्यक्ष मिलन गाहाले सत्यमा रहेर तथ्यमूलक समाचार सम्प्रेषण गर्नु र पत्रकारिताको मर्यादामा कमी हुन दिनुनहुने बताए । गाहाले आचारसंहितामा रहेर पत्रकारिता गर्नेहरूलाई राज्यले थप प्रोत्साहन गर्न प्रदेश सरकारसँग विषयहरू उठाइरहेको बताए।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारहरु आफ्ना अधिकारसँगै कर्तव्यमा पनि समंयमित हुनुपर्ने धारणा राखे । पोखरेलले समाचार सहुलियत शुल्कमा प्रवाह गर्ने प्रबन्ध मिलाएमा समिति सँगै सञ्चारजगतकै फाइदा हुने बताए। उनले नामका लागि नभई पत्रकारले काममा बढी केन्द्रित हुनुपर्ने बताए।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्यले पत्रकारहरू कलमजीवी र श्रमजीवी हुनुपर्ने र नामका लागि मात्र संलग्न हुन नहुने धारणा राखे। पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले राष्ट्रिय वा स्थानीय हरेक समाचारका विषय उठान गर्न राससको सहयोगले सहज भएको बताए।साथै उनले सरकारै पिच्छे नियुक्ति हुने र उक्त परिचय लिएर हिँड्ने मात्र नभई सक्रिय भूमिकामा रहनेलाई प्राथमिकतामा राख्न सुल्झाए।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अमृत गिरीले राजनीतिक मात्र नभएर जनतासँग सरोकार राख्ने वेथिति ,विकास ,समृद्धिका विषयमा बढी जोड दिनुपर्ने बताए। प्रेस चौतारी रूपन्देहीका अध्यक्ष भगवती पाण्डेले सञ्चारगृहमा स्रोत अभावले जनशक्तिभन्दा राससको ग्राहक बनि समाचार सम्प्रेषण गर्दा सहुलियत हुने अवस्था आएको बताइन्। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले सञ्चार माध्यमहरू हिजोका दिनमा शासनसत्ताका गतिविधि मात्र प्रकाशन प्रसारण गर्ने गरेको स्मरण सुनाउँदै अहिले जनसरोकारका विषयमा बढी जोड दिन आवश्यक रहेको र सोही लयमा सञ्चार क्षेत्र लाग्नुपर्ने बताए।
कलमजीवी र श्रमजीवी पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन राससकर्मी छायाँ पन्तले गरेकी थिइन्।