संविधान संशोधनमा अध्यादेश स्वीकृतमै कठिनाइ


राजनीतिमा कहिलेकाहीँ आत्मप्रशंसा र आत्मप्रचार आकाशमा हुन्छ, टेक्ने धरातल भने कमजोर हुन्छ । यतिबेला सत्तापक्ष त्यस्तै स्थितिमा पुगेको छ । खासगरी सरकारले जारी गरेका ६ अध्यादेश संसद्मा छलफलका लागि स्वीकृत गराउने विषयमा सत्तापक्ष असाधारण दबाबमा परेको छ ।

संघीय संसद्को प्रतिनिधिसभामा त सत्तापक्षको सहज बहुमत छ, तर राष्ट्रिय सभामा सामान्य बहुमत जुटाउन उसलाई हम्मे परेको छ । खासगरी सरकारमा नरहेको र सत्तापक्षबाट उपेक्षित जसपा नेपालको समर्थन नहुने हो भने सरकारले ल्याएका अध्यादेश छलफलको चरणमै प्रवेश नगरी निष्क्रिय हुने सम्भावना छ ।

यसरी संविधान नै संशोधन गर्ने मार्गचित्रका साथ बनेको र प्रतिपक्षीलाई उपेक्षा गर्दै आएको सत्तापक्षका लागि पहिलो झट्का लागेको छ । अध्यादेश प्रकरणले देखाएको छ, प्रतिपक्षीलाई उपेक्षा गरेर अघि बढ्ने सुविधा सरकारसँग छैन, संवाद र सहमतिबाट मात्र आगामी बाटो सहज हुन सक्छ । वर्तमान सत्ता गठबन्धन निर्माणको पृष्ठभूमिमा कांग्रेस–एमालेले असार १७ मा गरेको सहमतिमा संविधान संशोधनको विषय प्रमुख थियो । दुई ठूला दल मिल्दा जस्तासुकै काम पनि सहज हुने आकलन उनीहरूको थियो ।

साउन ६ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा दुई तिहाइ मत परेपछि सत्तापक्ष उत्साहित पनि थियो । त्यसपछि सत्तापक्षका जिम्मेवार नेताहरूले दिएका अभिव्यक्ति सुन्नेलाई लाग्थ्यो– मानौं संविधान संशोधनलगायतका मुलुकका आगामी मार्गचित्र सत्ता गठबन्धनको चुट्कीका भरमा सफल हुन्छन् । यही मनोविज्ञानले उनीहरू आम संवादबाट होइन, सत्तापक्षको संयन्त्रबाट मात्र अघि बढ्न खोजिरहेका थिए ।

राजनीतिक अस्थिरता र विकृतिको सारा दोष साना दललाई दिएर उनीहरू संविधान र कानुन संशोधनबाट समस्या सम्बोधन गर्ने मनोविज्ञानमा थिए । सरकारले यसै पनि संसद् अधिवेशन धकेल्दै ६ वटा अध्यादेश जारी गराएको थियो । संसद् नियमावलीअनुसार ती अध्यादेश दुवै सदनको पहिलो बैठकमा पेस भइसकेका छन् । प्रतिनिधिसभामा सरकारको पक्षमा प्रस्ट बहुमत भए पनि राष्ट्रिय सभामा नभएकै कारण अध्यादेशको भविष्य यतिञ्जेलसम्म अन्योलमै छ ।

संसद्को अधिवेशन नभएका बेला सरकारले आवश्यक ठानेमा कानुन ल्याउन पाउने संवैधानिक व्यवस्था छ, तर संसद् सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकका रूपमा पारित गर्नैपर्ने बाध्यता हुन्छ । तर, छलफलका लागि दुवै सदनले अध्यादेश ‘स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पारित गर्नुपर्छ जसका लागि पनि बहुमत अनिवार्य हुन्छ । तर, प्रस्ताव फेल हुने सम्भावना भएपछि बिहीबारको बैठकको कार्यसूचीबाट यो प्रस्ताव हटाइएको छ ।

सार्वजनिक भाषणमा आत्ममुग्ध सत्तापक्ष आन्तरिक तयारीमा निकै फितलो सावित भयो जसले संसद्मा अध्यादेश स्वीकृतिको प्रस्ताव पनि प्रस्तुत गर्न नसक्ने अवस्था आयो । जुन सरकार दुई तिहाइ चाहिने संविधान संशोधन गर्ने उद्देश्यसहित गठन भएको हो, ऊसलाई अध्यादेश स्वीकृत गराउन अनिवार्य सामान्य बहुमत जुटाउनसमेत कठिनाइ रहेको यथार्थ आजको वास्तविकता हो ।

सदनमा अहिलेकै शक्ति सन्तुलन कायम रहने हो भने आगामी दिनमा अन्य कानुन पनि बन्न कठिन छ । अर्थात् संसदीय शक्ति सन्तुलनले सहयोग गर्छ वा गर्दैन भन्नेसम्मको अध्ययन नगरी संविधान संशोधन जस्तो संवेदनशील विषयलाई चौतारोमा ल्याएर छाड्ने काम गरिएको देखियो ।

फेरि पनि सहमतिबाट कानुन बनाउने बाटो धेरै जटिल नहुन सक्छ, तर अहिलेकै कार्ययोजनाअनुसार संविधान संशोधन हुन नसक्ने भने निश्चित नै छ । दुई सदनात्मक व्यवस्था अपनाइएको जुनसुकै देशमा दुवै सदनमा सरकारको बहुमत सधैं नहुन सक्छ । सरकारलाई आफ्नो हैसियतको बोध गराउन र राजनीतिक शक्ति सन्तुलन कायम गराउन पनि यस्तो व्यवस्था उपयोगी छ ।

अब अध्यादेश र अन्य विधेयक अगाडि बढाउन सम्भवतः सरकारले अन्य राजनीतिक दलसँग पनि संवाद अघि बढाउनेछ । यसो भएमा अध्यादेश र कानुन बन्ने मात्र होइन, संसदीय अभ्यासलाई पनि बलियो बनाउन सहयोग पुग्नेछ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...