देशको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ



प्रिय कमरेडहरु,

मुलुकमा उत्पन्न असामान्य परिस्थितिबारे यहाँहरु अवगत नै हुनुहुन्छ। भ्रष्टाचारको विरोध लगायत विभिन्न माग राखेर सञ्चालित जेन–जेड पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको १९ जना युवाहरुको दुःखद निधन र ४ सय भन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको छ। मारिनु हुने सबैप्रति हामी पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ।
त्यस पीडाको घाउ ओभाउन नपाउँदै हिँजो देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले मुलुक पुनः स्तब्ध भएको छ। सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन्। बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन्। होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ। जेलबाट गंभीर कसुरमा दोषी साबित भएका सहित हजारौँ कैदीबन्दीहरु बाहिरिएका छन्। राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएका छन्। विकासका दृष्टिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो समाज निकै आहत भएको छ।
प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्व घोषणा विपरीत र यसमा कुनै सङ्लग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ। यस क्रममा राज्यका सुरक्षा निकायहरुको भूमिकाको पनि समीक्षा हुनुपर्छ।

यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न हामी आग्रह गर्दछौँ। हामीहरु निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानव–निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरुमाथि विजय हासिल गर्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधै रहने छैन, अवश्य बदलिएर जानेछ।

सङ्कटको यस घडीमा सबै कमरेडहरुलाई नियमित सम्पर्कमा रहन, समस्याको सामूहिक समाधानको प्रयाश गर्न, प्रशासनसँगको समन्वयमा सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति सुरक्षा कायम राख्न र जनतालाई परेको पीरमर्कामा आवश्यक राहत प्रदान गर्र्न आग्रह गर्दछौँ। समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यस क्रममा हाम्रा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने नै छ। तर यतिबेला सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु बढी महत्वपूर्ण छ। राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन सबैका सामु गंभीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यिनको रक्षाका लागि कमरेडहरुको रचनात्मक भूमिका रहने छ भन्ने विश्वास लिएका छौँ।

प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ। सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा संवोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ। लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयाशले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।

असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरुलाई हार्दिक आह्वान गर्दछौँ।

शंकर पोखरेल महासचिव, प्रदीप ज्ञवाली उपमहासचिव

श्रोत: पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको फेसबुकवाल बाट

२५ भदौ २०८२

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...