अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ


बुटवल
अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठानको नौ बहिनी गाउँपालिका वडा नं. १ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ४ पातले पोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरूङलाई प्रहरीले श्रीमतीको हत्या अभियोगमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गुरूङले आफ्नै श्रीमती ३४ वर्षीय सुमित्रा कुमाल गुरूङको हत्या गरी घरभित्रै गाडेर घटना लुकाउने प्रयास गरेका थिए।

घटना विवरण अनुसार गत भदौ १२ गते मध्याह्न १२ बजेतिर दुई जनाबीच भएको विवाद बढ्दै गएपछि किरणले श्रीमती सुमित्राको हत्या गरेका थिए।

बाँसको लाठी र हँसियाको पछाडिको भागले शरीरको विभिन्न भागमा हानेर सुमित्राको हत्या गरेपछि उनले कम्बलमा पोको पारेर आफ्नै घरको भान्सा कोठामा खाडल खनी गाडेका थिए।

घटना भएका तीन चारदिनसम्म छरछिमेक र माइती पक्षले सुमित्रालाई नदेखेपछि खोजी गरिदिन भन्दै प्रहरी चौकी बल्कोटमा मौखिक जानकारी गराएका थिए।
छरछिमेक र माइती पक्षको मौखिक जानकारीपछि खोजी सुरू गरेको प्रहरीले सोमबार घरको भान्सा कोठामा खाडल खनेर पुरेको अवस्थामा सुमित्राको शव फेला पारेको हो।

घरमा किरण, सुमित्रा र उनीहरूकी छोरी ९ वर्षीय सरू गुरूङ बस्दै आएका थिए। बुवाले आमालाई कुटपिट गरी हत्या गरेको देखे पनि सरूले कसैलाई भनेकी थिइनन्।
प्रहरीका अनुसार आमाको हत्या गरेकोबारे कसैलाई भने उनलाई पनि त्यस्तै बनाउने भन्दै किरणले डर धम्की दिएका थिए। सोही कारण हत्याको पाँच दिनसम्म पनि घटनाबारे कसैले पत्तो पाउन सकेका थिएनन्।

प्रहरीमा सुमित्रा हराएको भन्ने जानकारी दिएपछि खोजी गर्दै जाँदा उनीहरूको घरभित्रबाट दुर्गन्ध आएको चाल पाएपछि प्रहरीले घरभित्र खोजी थालेको थियो।

घरभित्रबाट दुर्गन्ध आएपछि घरभित्र पसेर हेर्दा भान्सा कोठामा खाडल खनेर कम्बलमा पोको पारेर गाडेको अवस्थामा सुमित्राको शव फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। शव फेला परेपछि मात्रै सरूले घटनाबारे प्रहरीलाई थप बताएकी थिइन्।

अहिले अभियुक्त किरणलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको हिरासतमा राखी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए। बालिका सरू भने मावलीको संरक्षणमा छन्।

प्रहरीका अनुसार किरण र सुमित्रा १० वर्ष अगाडि प्रेम विवाह गरेका थिए। उनीहरू दुबै जनाको यो दोस्रो विवाह हो। किरणका पूर्व श्रीमतीतर्फ २ जना छोरी छन् भने सुमित्राका पूर्व श्रीमानतर्फ ३ छोरा छन्।

सामान्य खेती किसानी गरी जीविकोपार्जन गर्दै आएका किरणले मादक पदार्थ सेवन गरी घरमा झैझगडा गर्ने गरेको स्थानीयले बताएका छन्।

घटनाको दिन पनि उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट बाँसको लाठी, हँसिया, खाडल खन्न प्रयोग भएको गैँची, बेल्चा, कोदालो तथा मदिराका बोतलहरू बरामद गरेको जनाएको छ।

छुटाउनुभयो कि ?

नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

बुटवलबुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ। नक्कली ...
काठमाडौंबाट २४ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौंबाट २४ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौंसितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ । पासपोर्ट नभएका, पर्यटक भिसाको अव...
बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्...
विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम...