उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका


काठमाडौं

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तीमा १७ नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ ।

बर्दिया घर भएका चार र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासनलाई खोजीका लागि गुहारेका छन् ।

आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन् ।

‘थप तीन जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले सुनाए, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’

यस्तै जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जना बढी बेपत्ता भएको जनाएका छन् ।

‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जना बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

बाढीमा बेपत्ता भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले बुबासहित सात जनाको बेपत्ता भएको जानकारी आफूलाई टेलिफोनमार्फत दिएको अध्यक्ष बस्नेतले बताएका छन् ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भारतीय पक्षसँग खोज तथा उद्दारबारे समन्वय भइरहेको बताएका छन् । बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । उत्तराखण्डमा २० साउनमा आरीघोप्टे वर्षापछिको बाढीपहिरोमा परी ४ जना नेपाली बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीसँग अपिल गरेका छन्।

इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा बेपत्ता भएका परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै निवेदन दिएको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले जानकारी दिए ।

उनले भने, ‘मधुवन नगरपालिकाका ४ जना पहिरोमा परी बेपत्ता भन्ने खबर थाहा पाउन साथ पीडितको घरमा पुगेका थियौं । बेपत्ता परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै प्रहरीमा निवेदन समेत दिइसक्नु भएको छ ।’

प्रहरीका अनुसार मधुवन नगरपलिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का र उनको २ वर्षीय छोरा रोमन खड्का बाढीपहिरोमा परी बेपत्ता भएका छन् ।

यस्तै वडा नम्बर ५ की अमृता परियार पनि बेपत्ता भएकी छन् । मधुवन नगरपालिका–५ का चित्रबहादुर पौडेलमार्फत उनीहरू वैशाखमा मजदुरी गर्न त्यसतर्फ गएको भाटले जानकारी दिए । बाढी प्रभावित स्थानमा अझै उद्दार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट करिब १९० जनालाई उद्धार गरिएको छ । राज्यका अधिकारीहरूले यो एकै स्थानमा अत्यधिक वर्षा हुँदा क्लाउडबस्र्ट भएर बाढी आएको बताएका छन् । लेदो माटो र पानीसहित बाढी आउँदा धेरै क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

छुटाउनुभयो कि ?

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...
राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

काठमाडौँराजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा स...
विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

काठमाडौँसह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोम...
लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

बुटवललुम्बिनी प्रदेश प्रहरी कार्यालयले यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। सार्व...