लेखा समितिमा परेका उजुरीको छानबिन प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र निष्कर्षमा पुग्ने


  1. राजनीति

लेखा समितिमा परेका उजुरीको छानबिन प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र निष्कर्षमा पुग्ने

  चैत १०, २०८१ आइतबार ९:२५:४८ | रासस

https://www.facebook.com/v8.0/plugins/share_button.php?app_id=292572400759574&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Dff7c88dfe30503214%26domain%3Dujyaaloonline.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fujyaaloonline.com%252Ff66baf629e8d3a6d8%26relation%3Dparent.parent&container_width=0&href=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F113562%2F2025%2F3%2F23%2Finvestigation-process-complaints-filed&layout=box_count&locale=en_US&sdk=joey&size=small

FacebookTwitterViberEmailPrintFriendlyShare

unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको हिजो बसेको बैठकले समितिमा परेका एक सयभन्दा बढी उजुरीको प्राथमिकताका आधारमा विभिन्न ४८ उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिमा परेका उजुरीलाई १५ दिनभित्र निष्कर्षमा पुर्‍याउने समितिले निर्णय गरेको हो ।

समितिको कार्यशैली र भएका निर्देशनको कार्यान्वयनको अवस्था र प्रभावकारिता कमजोर देखिन्छ । यो विषय समितिका कतिपय सांसदहरूले स्विकार्नुभएको छ । हरेक पटकका बैठकमा सांसदहरू राख्ने धारणा र पोख्ने आक्रोश पनि यही विषयमा केन्द्रित रहने गरेको थियो ।

समितिका सभापति ऋषिकेश पोखरेलले समितिमा परेका उजुरीमाथिको छानबिन यथाशीघ्र अघि बढाउने प्रतिबद्धता पुनःदोहोर्‍याउनुभएको छ । उहाँका अनुसार विभिन्न निकायमा भएका आर्थिक अनियमिता र भ्रष्टाचारका विषय परेका उजुरीमाथि छानबिन अघि बढ्ने निर्णय भएको हो ।

समितिमा परेका उजुरीहरूमा अधिकांश ठूला व्यापारिक घराना, विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव, सरकारी निकायका पदाधिकारी मुछिएका छन् । नेपाल धितोपत्र बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरणलगायत नियामक निकाय विरुद्धका पनि उजुरी उत्तिकै परेका छन् । यसबाट राजनीतिक तह, कर्मचारी, व्यापारी, नियामक निकायलगायतको मिलेमतोमा आर्थिक अनियमितता र र भ्रष्टाचार हुने बुझिन्छ । एनसेल, स्मार्ट टेलिकम, नेपाल टेलिकम, विभिन्न इन्टरनेस सेवा प्रदायक कम्पनीविरुद्धका उजुरीमा आर्थिक अनियमितालाई मातहत निकायबाट संरक्षण र उन्मुक्ति दिइरहेको भनेर उजुरीकर्ताले किटानी गरेका छन् ।

अधिकांश निकायमा सार्वजनिक खरिद प्रक्रिया र ठेक्कापट्टामा भ्रष्टाचार हुने गरेको प्रवृत्ति पनि यी उजुरीको सङ्ख्याले देखाउँछ । समितिमा परेका धेरैजसो उजुरी सार्वजनिक खरिद र ठेक्का प्रक्रियासँग सम्बन्धित छन् । नेपाल टेलिकमको अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियामा स्वदेशी कम्पनीलाई निषेध गरिएकोदेखि विद्युत् प्राधिकरणका ठेक्का प्रक्रियामा अनियमितता तथा मिलेमतो गरी राज्यलाई आर्थिक नोक्सानी पुर्‍याइएको आरोप लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका खरिद प्रक्रियामा नीतिगत भ्रष्टाचार गरिएको दाबीसहित उजुरी परेको छ । जसमा निश्चित कम्पनीलाई अनुचित फाइदा दिने उद्देश्यले अनावश्यक शर्त राखिएको भन्दै उजुरी परेको छ । त्यस्तै नेपाल वायु सेवा निगमका निर्णय कानुनी प्रक्रिया विपरीत रहेको, सर्वोच्च अदालतको आदेश अवहेलना गर्दै क्यासिनो सञ्चालनका लागि अनुमति दिइएको, एमसीसी परियोजनासँग सम्बन्धित ठेक्का प्रक्रियामा अनियमितता भएको दाबीसहित उजुरी परेका छन् । यी उजुरीहरूले नेपालमा सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापन प्रक्रिया कति कमजोर र अपारदर्शी छ भन्ने देखाउँछ ।

के–के छन् उजुरी ? 

सार्वजनिक लेखा समिति गठन भएको २०८० वैशाखयता सयभन्दा बढी उजुरी परेकामा समिति सदस्य सञ्जयकुमार गौतमको संयोजकत्वमा गठित उपसमितिले ४८ वटा मात्र छानबिन गर्न सिफारिस गरेको थियो । अरू उजुरी भने अख्तियारले छानबिन गरिरहेको, अदालतमा मुद्दा चलिरहेको तथा केही उजुरी आरोप, आग्रह र पूर्वाग्रहबाट मात्र प्रेरित देखिएको, समितिको कार्यक्षेत्रभित्र नपरेका तथा त्यसमा सत्यताको अंश कमजोर रहेकोलगायत कारण छानबिन आवश्यक नरहेको निष्कर्ष समितिले निकालेको सभापति पोखरेलले बैठकमा विवरण सार्वजनिक गर्दै जानकारी दिनुभयो ।

समितिमा अहिलेसम्म प्राप्त उजुरीको विवरणअनुसार नेपाल टेलिकमविरुद्ध मात्र छ वटा उजुरी परेका छन् । उहाँका अनुसार टेलिकममा भएको राजस्व चुहावट सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उजुरी परेको छ । त्यस्तै, रिजार्डकार्ड छपाइसम्बन्धी अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्दा राखेको ‘चेन्ज स्पेसिफिकेसन’का कारण स्वदेशी उद्योगीहरूले भाग लिन नसक्ने अवस्था सिर्जना गरेकाले टेलिकमको अन्तरराष्ट्रिय बोलपत्र रद्द वा संशोधन गरी पाउँ भनी मनोहर राज घिमिरेको तर्फबाट उजुरी परेको छ ।

‘नेपाल टेलिकमबाट आह्वान भएको बोलपत्र सम्बन्धमा आवश्यक छानबिन तथा अनुसन्धान गरी बोलपत्र बदर गरी कारबाही गरी पुनःनयाँ बोलपत्र आह्वानका लागि उपयुक्त आदेश जारी गरी पाऊ’, भनी अर्को उजुरी परेको छ । जागरुक नेपाल समाजले हालेको यो उजुरीमाथि पनि अहिलेसम्म छानबिन हुन सकेको छैन ।

त्यस्तै नेपाल टेलिकममा हुने अन्तरराष्ट्रिय बोलपत्रमा कार्यसम्पादनका सर्त उल्लङ्घन भएको, बिलिङ टेण्डरमा धाँदली तथा भ्रष्टाचार भएकोलगायत विषयमा अनुसन्धान र छानबिनको माग गरिएको छ । त्यसैगरी एनसेल र स्मार्ट टेलिकममा भइरहेको र हुन लागेको अर्बौको भ्रष्टाचार रोक्ने सम्बन्धमा भेषराज लुइँटेलको उजुरी परेको लेखा समितिले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित पाँच वटा उजुरी समितिमा दर्ता भएका छन् । ‘धितोपत्र बोर्ड र बिमा प्राधिकरणले बिमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरूपयोग गरी बिमा कम्पनीलाई प्रिमियममा साधारण शेयर जारी गर्न दिएर भ्रष्टचार गरेको हुँदा छानबिन गरी कारबाही गरी पाऊ’ भनी केशव कोइरालासहित २१ जनाको उजुरी परेको समितिका सभापति पोखरेलले उल्लेख गर्नुभयो ।

त्यस्तै ‘धितोपत्र बोर्डसहितका निकायहरूले रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको बुक बिल्डिङ्ग विधिबाट प्राथमिक शेयर निष्कासन अनुमति दिँदा कानुनको गम्भीर उल्लङ्घन गरेकाले सोसँग सम्बन्धित फाइल झिकाइ अनुसन्धान र कारबाही गरी पाऊ’ भनी घनश्याम पाण्डेलगायतको उजुरी परेको लेखा समितिले जनाएको छ ।

अन्नपुर्ण केवलकार लिमिटेडको प्राथमिक शेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डको नाममा सिफरिस गर्न आवयक सहयोग गरिदिन भन्दै कालु गुरुङले उजुरी हाल्नुभएको छ । ‘कानून विपरीत जारी गरिएको सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपिओ तत्काल रोक्का गरी नेपाल सरकारले दिएको कर छुट बापतको रकम फिर्ता पाऊ’ भनी अर्को उजुरी परेको छ ।

उत्पादनमूलक कम्पनीको हकमा ‘नेटवर्थ’भन्दा पनि कम्पनीको व्यवसाय, भविष्य र व्यसायको प्रकृतिको आधारमा आइपीओ निष्कासन अनुमति दिन मागसहित विनोद सुवेदीले उजुरी हाल्नुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमलगायत निकायकाविरुद्ध छ वटा उजुरी परेका समितिका सभापति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ‘उड्डयन प्राधिकरणले गरेको आर्थिक अनियमितताको सम्बन्धमा छानबिन गराइ पाऊ’ भनी उजुरी परेको छ ।

त्यस्तै नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो व्यक्तिगत लाभका लागि वायु सेवा ऐन, २०१९ र यसअन्तर्गत बनेको नियमावली विपरीत कार्य गरी निगमलाई ठूलो आर्थिक भार पार्ने कार्य गरी निगमलाई नोक्सानी पुर्‍याएको हुँदा निज अधिकारीले गरेको सम्पूर्ण काम कारबाहीको अनुसन्धान गरी कारबाहीको मागसहित उजुरी परेको समितिले जनाएको छ ।

अदालतको अवहेलना गरी क्यासिनो सञ्चालन गर्न पूर्व स्वीकृतिपत्र जारी गरेकोबारे उजुरी परेको छ । कानूनले तोकेको अख्तियारी दुरूपयोग गरी क्यासिनोको प्रिलाइसेन्स दिएको सम्बन्धमा कारबाही गरी पाऊ र लुम्बिनी विकास कोषका भ्रष्टाचारीलाई कारबाही गरी पाऊ भनेर उजुरी परेको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तरराष्ट्रिय समितिले अध्ययन गरेर २०७५ सालमा जारी गरेको प्रतिवेदन कार्यन्वयन गरी तारा गाउँ विकास समितिको नाममा भएको जग्गा फिर्ता ल्याउने सम्बन्धमा तथा ह्यात होटल (तारा गाउँ रिजेन्सी होटल) जग्गा तथा शेयर फिर्ता ल्याउने विषयमा परेको उजुरी समितिमा विचाराधीन रहेको जनाइएको छ ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको पूर्ण स्वामित्व भई एकलौटी भोगाधिकार रहेको काठमाण्डौ लैनचौरमा रहेको कित्ता नम्बर १० को जग्गा २०६५ सालमा नेपाल स्काउट र खड्का लैण्ड डेभलपमेन्ट प्रालिबीच १० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भएको थियो । सम्झौताको अन्त्यपश्चात् पनि फर्जी कागज तयार गरेर केरमेट गरी १० वर्षको करार अवधिलाई १५ वर्ष बनाएर विवाद उत्पन्न गरी काठमाण्डौ जिल्ला अदालतको २०७६ साल असार १८ को फैसला बमोजिम खड्का लैण्ड डेभलपमेन्टले भोगचलन गर्दै आइरहेको भन्दै उजुरी परेको लेखा समितिले जनाएको छ ।

फैसला उपर पुनरावेदन गर्दा उच्च अदालत पाटनबाट २०७९ साल असार १३ गते जिल्ला अदालतको आदेश नमिलेको भनी बदर भएको थियो । साथै २०७९ मङ्सिर २८ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी ताेकिएकाे समयावधिभित्र ठाउँ खाली गर्नुपर्ने उच्च अदालतको फैसलाको अवज्ञा गर्दै आएकाले सम्मानित अदालतको फैसला कार्यान्वयन गर्न आवश्यक सहयोग गर्न भन्दै उजुरी परेको छ ।

नेपाल टेलिभिजन विरुद्ध एउटा उजुरी छ । नेपाल टेलिभिजनमा ग्राफिक्ससम्बन्धी उपकरण खरिदमा भएको संस्थागत करोडौँको भ्रष्टाचार छानबिन गर्नेसम्बन्धमा समितिमा उजुरी परेको हो । नेपाल टेलिभिजनका कर्मचारीले यो उजरी हालेका हुन् ।

‘अनुमति प्राप्त नगरी केही इन्टरनेट सेवा प्रदायक र केबल सञ्चालकले डिजिटल टेलिभिजन सञ्चालन गरी उपभोक्ताबाट सोबापत शुल्क लिने गरेको तर सरकारलाई तिर्नु र बुझाउनुपर्ने दस्तुर नबुझाई कार्यक्रम प्रसारण गरिरहेकाले सरकारलाई भएको हानी नोक्सानीबापत कानुनअनुसार दण्ड सजाय तथा असुल उपर गरी पाऊ’ भनी उजुरी परेको छ ।

वैदेशिक रोजगार विभागले एक करोड २० लाख रुपैयाँमा किनिएको र वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ‘सफ्टवेयर अपग्रेड’का लागि कानून विपरीत वैदेशिक रोजगार कल्याणकारी कोषको १० करोड रुपैयाँ निकालेर वदनियतपूर्वक खर्च गर्न खोजिएकाले यस कार्यलाई अविलम्ब रोकी अनुसन्धान गर्न भन्दै उजुरी परेको छ ।

छुटाउनुभयो कि ?

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...
नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

काठमाडौँनेपाल र युएईबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेदेखि ...
भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

काठमाडौंभारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका ...
अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

काठमाडौंअमेरिकाले इरानी झण्डा बोकेको एक मालवाहक जहाज नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार ‘...