तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै


यमपञ्चक (तिहार) तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ।

यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ। दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतम बताउँछन्।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ।

आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ। वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद् गौतमले बताए।  

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी  दिइन्छ। यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ।

शास्त्रीय रुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...