
बुटवल
पश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ ।
लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको सराय नाच बुटवलमा कोजाग्रत पूर्णिमाका दिन देखाइएको हो । दशैंको अवसरमा लुम्बिनीका अर्घाखँची, गुल्मी र पाल्पा जिल्लामा लोकप्रिय सराँय नाच बुटवल जितगढी मन्दिर परिसरमा प्रदर्शन गरिएको हो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्यालले असत्य माथि सत्यको विजय उत्सवको रूपमा मनाइने र ईतिहास,कला, संस्कार, संस्कृतिको जगेर्ना गर्नू साझा दायित्व रहेको भन्दै सराय नाचमा सहभागी भएका थिए।
पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उद्देश्यले बुटवलमा संस्कृति जोगाएका हुन् । भाला, खुकुरी र बाजागाजासहित सराँय नाच देखाइएको थियो ।
परापूर्वकालदेखि नै सराँय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको जितगढी सराय नाच व्यवस्थापन समितिका अध्यक्ष दिपक पन्थीले वताए।
गुल्मी,अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।
पछिल्लो पुस्तालाई सराँय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नाँच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको छ । बुटवल जितगढीमा सराँय हेर्नका लागि मानिसहरुको बाक्लो भीड लागेको थियो ।