
काठमाडौँ
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहकार्यको भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ।
एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा वाग्लेले जयशंकरलाई विश्व बहुपक्षीयताबाट क्षेत्रीय तथा साना समूहमा आधारित सहकार्यतर्फ गइरहेको हो भन्दै प्रश्न गरेका थिए।
‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौं?’ वाग्लेले प्रश्न गर्दै विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जालगायत क्षेत्रमा भइरहेका द्विपक्षीय तथा क्षेत्रीय सहकार्यलाई औपचारिक संस्थागत संरचनामार्फत अघि बढाउनुपर्ने सम्भावनाबारे जिज्ञासा राखेका थिए।
जवाफमा जयशंकरले पछिल्लो समय देशहरू औपचारिक प्रतिबद्धताभन्दा कम प्रशासनिक भार भएका र परिणाममुखी सहकार्यका ढाँचातर्फ आकर्षित भइरहेको बताए। औपचारिक संरचना निर्माण गर्दा वार्ता, नियम र सञ्चालन खर्चमै धेरै समय बित्ने उनको भनाइ थियो।
‘प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,’ जयशंकरले भने। उनले ब्रिक्सको उदाहरण दिँदै सबै सहकार्यलाई सचिवालय वा औपचारिक बडापत्र आवश्यक नपर्ने उल्लेख गरे।
भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीयभन्दा फरक प्रकृतिका करिब ५० वटा त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधाराका समूह निर्माण गरेको पनि उनले बताए।
वाग्लेले यसअघि सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतबाट प्राप्त सहयोगको प्रशंसा गरेका थिए।