
काठमाडौँ
मंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार वडा नम्बर ३ मा केही घर भत्किएको र चर्किएको पाइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा लोमन्थाङ आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का मुस्ताङका आसपासका जिल्लासहित काठमाडौंमा समेत महसुस भएको थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन । उनले भनिन्, ‘मानवीय क्षति भएको छैन । भौतिक संरचनामा के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ । एकीकृत विवरण आइसकेको छैन । लोमन्थाङमा केही घरहरू भत्किएको खबर छ ।’
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामचन्द्र तिवारीले लोमन्थाङमा प्राय: माटोका घरहरू भएकाले चर्किएको बताए । उनले भने, ‘स्थानीय जनप्रतिनिधिहरूसँग प्रहरी टोली फिल्डमै खटिएर क्षतिको विवरण संकलन गरिरहेको छ । कोही घाइते भएको खबर छैन ।’
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार लोमन्थाङ-३ फुवा गाउँमा मान्छे नबस्ने एउटा घर भत्किएको छ । त्यस्तै एउटा गुम्बाको पर्खाल र एउटा विद्यालयमा समेत क्षति पुगेको छ । ‘वडा नम्बर ३ मा धेरै घर चर्किएका छन् । १,२, ४ र ५ नम्बर वडामा पनि घरहरू चर्किएका छन् । करिब ४/५ सय घरहरू चर्किएका छन् होला,’ अध्यक्ष गुरुङले भने,’धेरै घरहरू बस्न नमिल्ने गरी चर्किएका छन् ।’