विष्णु पौडेलको चुनावी अभियान : गाली र विरोध नभई विकास योजनामै केन्द्रित



रुपन्देही
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले घरदैलो तथा जनतासँग भोटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । नेपाली राजनीतिमा सधै समन्वयकारी भूमिकामा रहने पौडेलले यस पटकको निर्वाचनमा पनि कुनै दल वा राजनीतिक विचारलाई गाली वा विरोध नगरी जनतासँग प्रत्येक्ष प्रभाव पार्ने बिकासका योजनाहरु बारे छलफल गर्दै मतदातासँगको भेटघाटलाई जारी राखेका छन् ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले रुपन्देहीमा अगाडि सारी निर्माण सम्पन्न भएका महत्वपूर्ण बिकास योजनाहरु र निर्माणाधिन योजनाहरु बारेनै उनले जनतासँग अन्तरक्रिया तथा सुझाव संकलनलाई जोड दिएका छन् । उनले गगाडि सारेका योजनाहरु रुपन्देही क्षेत्र नम्बर २ मात्रै नभई सिंगो रुपन्देही र मुलुकलाई नै सकारात्मक प्रभाव पार्न सक्ने खालका छन् ।
उनले सार्वजनिक गरेका २० बुँदे चुनावी एजेण्डाहरुमा समेत सम्पन्न योजनालाई व्यवस्थित सञ्चालन गर्ने, निर्माणाधिन योजनालाई पूर्णता दिने तथा केही नयाँ योजनाहरुलाई अघि बढाउने कुरालाई जोड दिइएको छ । पौडेलले भौतिक पूर्वाधार, आर्थिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, पर्यटन, ऊर्जा र सामाजिक सुरक्षासम्मका विषयलाई समेट्ने गरी विस्तृत प्रतिबद्धता अघि सारेका छन् ।

रुपन्देहीको बिकास बारे हरेक दिन हुने अन्तरक्रिया तथा घरदैलो कार्यक्रममा मतदाताहरुले यहाँका महत्वपूर्ण योजनाहरुलाई पूर्णता दिनका लागि पनि पौडेलको विकल्प नभएको टिप्पणी गर्ने गरेका छन् । पौडेलको २० बुँदे एजेण्डाको केन्द्रमा ‘वृहत् बुटवल’ अवधारणा राखिएको छ । पश्चिम नेपालकै व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको बुटवललाई आधुनिक सहरमा रूपान्तरण गर्दै त्यसको प्रभाव रूपन्देहीका ग्रामीण भेगसम्म विस्तार गर्ने लक्ष्य उनले अघि सारेका छन् । बढ्दो सहरीकरणसँगै ट्राफिक व्यवस्थापन, ढल, खानेपानी, हरियाली, फोहोर व्यवस्थापन र आवासीय योजनालाई एकीकृत रूपमा अघि बढाउने प्रतिबद्धता उनको एजेण्डामा उल्लेख छ ।

भौतिक पूर्वाधारतर्फ पौडेलले सबैभन्दा महत्त्वपूर्ण योजनाका रूपमा कालीगण्डकी-तिनाउ पथान्तरणलाई राखेका छन् । यो आयोजना सम्पन्न भए रूपन्देहीसहित लुम्बिनी क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान हुने उनको दाबी छ । त्यस्तै बुटवल–पोखरा सडक स्तरोन्नति गरी दुई घण्टामा पोखरा पुग्ने अवस्था बनाउने, बुटवल-नारायणघाट सडकलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, बुटवल-सुनौली अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई व्यवस्थित बनाउने एजेण्डा पनि समेटिएको छ ।
औद्योगिक विकास र रोजगारी सिर्जनालाई पौडेलले आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् । विशेष आर्थिक क्षेत्र, औद्योगिक करिडोर र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग स्थापना गरेर युवालाई स्वदेशमै रोजगारी दिन सकिने उनको तर्क छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सीप र पुँजीमा आधारित उद्यमतर्फ आकर्षित गर्न सहुलियत ऋण, तालिम र बजार सुनिश्चितताको व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

कृषि क्षेत्रमा आधुनिकिकरण र व्यावसायिकरण पौडेलको अर्को मुख्य एजेण्डा हो । सिँचाइ सुविधा विस्तार, कृषिमा यान्त्रिकीकरण, उत्पादनको उचित मूल्य, भण्डारण र प्रशोधन केन्द्र स्थापना गरेर किसानको आम्दानी बढाउने योजना उनले अघि सारेका छन् । रूपन्देहीको उर्वर भूमिलाई व्यावसायिक खेतीसँग जोड्दै कृषि आधारित उद्योग विकास गर्ने लक्ष्य पनि उनको घोषणापत्रमा उल्लेख छ ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधार र सीपमूलक शिक्षामा जोड दिने पौडेलको प्रतिबद्धता छ । सामुदायिक विद्यालयको भौतिक संरचना सुधार, शिक्षक तालिम, प्रविधिमैत्री शिक्षा र प्राविधिक शिक्षालाई विस्तार गर्दै स्थानीय आवश्यकतासँग शिक्षा जोड्ने उनको भनाइ छ । उच्च शिक्षाका लागि रूपन्देहीमै सुविधा विस्तार गरी विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता कम गर्ने लक्ष्यसमेत उनले राखेका छन् ।
स्वास्थ्य क्षेत्रको सुधार पौडेलको अर्को प्राथमिकता हो । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सहज रूपमा उपलब्ध गराउने, अस्पतालको क्षमता विस्तार, विशेषज्ञ सेवा स्थानीयस्तरमै पुर्‍याउने र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै मोबाइल स्वास्थ्य सेवा र टेलिमेडिसिनको अवधारणासमेत उनले अघि सारेका छन् ।

ऊर्जा र पर्यटन विकासलाई पनि पौडेलले आर्थिक समृद्धिसँग जोडेर हेरेका छन् । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई व्यवस्थित गर्दै उद्योग र घरायसी प्रयोगका लागि गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्ने उनको भनाइ छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन प्रवर्द्धन गर्दै लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजनासमेत उनको एजेण्डामा समावेश छ ।

सामाजिक सुरक्षाको सवालमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित र विपन्न समुदायलाई लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पौडेलले जनाएका छन् । सामाजिक सुरक्षा भत्तालाई समयानुकूल बनाउँदै सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउने उनको भनाइ छ ।

सुशासन र पारदर्शितालाई पनि पौडेलले चुनावी एजेण्डाको आधार बनाएका छन् । भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा डिजिटल प्रणाली, छिटोछरितो सेवा र जनप्रतिनिधिको जवाफदेहितालाई मजबुत बनाउने उनले बताएका छन् । विकास योजनामा जनसहभागिता र निगरानी बढाएर ‘कागजमा होइन, मैदानमा देखिने विकास’ गर्ने दाबी उनको छ ।

पौडेलले आफ्नो २० बुँदे एजेण्डालाई चुनावी नारामा सीमित नराखी अघिल्ला कार्यकालमा सम्पन्न तथा सुरु भएका आयोजनासँग जोडेर प्रस्तुत गरेका छन् । यसले उनको एजेण्डा व्यवहारिक र कार्यान्वयनयोग्य रहेको सन्देश दिन खोजिएको देखिन्छ । उनका समर्थकहरू यसलाई अनुभवी नेताको ‘रोडम्याप’ मानिरहेका छन् भने विपक्षी दलले कार्यान्वयन क्षमतामाथि प्रश्न उठाइरहेका छन् ।
रूपन्देही–२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा विकास, रोजगारी र सुशासन मतदाताका मुख्य चासोका विषय बनेका छन् । यस्तो अवस्थामा विष्णु पौडेलले अघि सारेको २० बुँदे एजेण्डाले मतदातालाई कत्तिको विश्वस्त बनाउँछ भन्ने प्रश्न निर्णायक हुने स्थानीयको भनाइ छ । तर उनले प्रस्तुत गरेको विकासको खाकाले यो निर्वाचनलाई व्यक्ति र दलभन्दा माथि उठेर ‘एजेण्डाको बहस’तर्फ उन्मुख गराएको बुटवल ११ का मतदाता नबिना घिमिरे बताउँछिन् ।

मतदाताको आग्रहः हाम्रा माग सम्बोधन होस्
आइतबार पौडेलले तिलोत्तमाको ३ नम्बरमा घरदैलो गरका छन् । त्यसैगरी बुटवल १० वडा सम्पर्क र बुटवल ६ को वडा सम्पर्क कार्यालयमा मतदातालाई भेट गरेर आफूले अघि सारेका प्रतिवद्धता पूरा गर्ने जनाएका छन् । त्यसैगरी श्रृगैश्वरधाममा रहेका ज्येष्ठ नागरिकसँग भेटघाट, तिलोत्तमा ४ मा घरदैलो गरेका छन् । श्रृगैश्वरधाममा रहेका ज्येष्ठ नागरिकसँग पौडेलले एमाले नेतृत्वमा रहेको सरकारले अघि सारेका वृद्धभत्ता र सामाजिक सुरक्षा कार्यक्रमले ठूलो राहत दिएको र आगामी दिनमा जारी राख्ने जनाए ।

पौडेल तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा चुनावी अभियानमा व्यस्त देखिए । बिहान तिलोत्तमा-३ मा घरदैलो कार्यक्रमबाट सुरु भएको अभियान दिउँसो तिलोत्तमास्थित श्रृंगेश्वर धाममा ज्येष्ठ नागरिक भेटघाट र तिलोत्तमा–४ मा घरदैलोपछि ड्राइभरटोल चोकको कोणसभासम्म पुगेको थियो ।

तिलोत्तमा–३ का स्थानीय मतदाता सीता अधिकारीले घरदैलोका क्रममा भनिन्, “विष्णु पौडेल पटक-पटक मन्त्री हुँदा यहाँका सडक, खानेपानी र विद्युत् विस्तारमा काम भएको हामीले देखेका छौं । अब अधुरा योजना पूरा हुने अपेक्षा गरेका छौं ।” अर्का मतदाता रामकृष्ण खनालले भने, “राजनीतिमा अनुभव भएका व्यक्ति फेरि निर्वाचित भए स्थिरता र विकास दुवैलाई निरन्तरता मिल्छ भन्ने विश्वास छ।”
श्रृंगेश्वर धाममा आयोजित ज्येष्ठ नागरिक भेटघाट कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक नन्दलाल न्यौपानेले भने, “हामी वृद्धवृद्धाको सामाजिक सुरक्षाभत्ता समयमै पाउनुपर्छ, स्वास्थ्य सेवा सहज हुनुपर्छ । यसतर्फ उहाँको ध्यान जाओस् भन्ने चाहना छ।” अर्की ज्येष्ठ नागरिक कमला भट्टराईले थपिन्, “ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र नियमित स्वास्थ्य शिविर आवश्यक छ, उम्मेदवारले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।”

तिलोत्तमा–४ मा घरदैलो गर्दै पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका थिए । ड्राइभरटोल चोकमा आयोजित कोणसभामा बोल्दै उनले विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई मुख्य एजेण्डा बनाएका छन् । उनले भने, “रुपन्देही–२ लाई आधुनिक कृषि, उद्योग र पूर्वाधारका माध्यमबाट समृद्ध बनाउने हाम्रो स्पष्ट योजना छ। अधुरा सडक, सिँचाइ र खानेपानीका योजना पूरा गर्नु मेरो प्राथमिकता हो। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाइनेछ । ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षालाई अझ प्रभावकारी बनाइनेछ।

स्थिर सरकार र अनुभवी नेतृत्वमार्फत विकासले गति लिन्छ भन्ने विश्वासका साथ तपाईंहरूको मत माग्न आएको छु।” दिनभरको कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो। एमाले कार्यकर्ताहरूले घरदैलो र कोणसभामा उत्साहजनक सहभागिता जनाएको वताएका छन्।

पौडेलको योजना र पहलमा वनेका र वन्दै गरेका रूपन्देहीका ठुला आयोजनाहरूको फोटो फिचर

छुटाउनुभयो कि ?

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज...
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिप...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...