
३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कारण विभाजित भएको कांग्रेसको इतिहासमा बुधबार फेरि नयाँ अध्याय थपिएको छ ।
२०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो । २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । अहिलेको टकरावमा पनि शेरबहादुर देउवा नै जोडिएका छन् । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेका थिए । त्यो मागमा देउवा सहमत नहुँदा पार्टी विभाजित भएको छ ।
विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन भएको यो घटना कांग्रेस जीवनमा नै नौलो छ । यसअघि २०१४ सालको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शम्शेरले नै महाधिवेश बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गरेका थिए । कांग्रेसको इतिहासमा यो दोस्रो महाधिवेशन हो । यो महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूले बोलाएका थिए । महाधिवेशन प्रतिनिधिहरूको बलमा भएको विशेष महाधिवेशनले नेतृत्व नै परिवर्तन गरेको छ ।
विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनलाई देउवा पक्षले अस्वीकार गरेको छ । अब यो विभाजनले कांग्रेसलाई दुई चिरा पारेको छ । अब कुन कांग्रेस आधिकारिक भन्ने कानुनी झमेला पनि सुरु भएको छ ।