
विनोद खनाल
बुटवल
‘स्वच्छ बुटवल–हरित बुटवल, ऐतिहासिक बुटवल–पर्यटकीय बुटवल’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको बुटवल बृहत् सरसफाइ अभियान–२०८२ दोस्रो दिन शुक्रबार पनि व्यापक सहभागिताका साथ सम्पन्न भएको छ।
पौष १८ गते बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अभियानको औपचारिक उद्घाटन गरेका थिए। सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको अभियान अन्तर्गत आज दोस्रो दिनको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।
दोस्रो दिनको कार्यक्रम अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलका प्रधानाध्यापक दिनेश भुसालको संयोजकत्वमा सुरु गरिएको हो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले बुटवललाई स्वच्छ, हरित र सुन्दर सहर बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए। उनले आयोजक संस्थालाई अभियानलाई अझ व्यवस्थित र दिगो बनाउन आग्रह गर्दै सम्पूर्ण नगरबासीलाई सक्रिय सहभागिताका लागि अनुरोध गरे।

कार्यक्रमका संयोजक दिनेश भुसालले बुटवल बजार क्षेत्र सफा राख्न विद्यालय सधैँ सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै विद्यार्थीहरुलाई समेत परिचालन गरेर सहर सफा राख्ने अभियानमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरसफाइ कार्यक्रममा सहिद बेपत्ता स्मृति प्रतिष्ठानका उपाध्यक्ष सरद वली, सचिव बिरेन्द्र बि.क सरसफाई अभियान्ता महेश थैव, गोपाल पाण्डे, बुटवल उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्याल लगायत विद्यार्थी, सामाजिक क्षेत्रका अगुवा, समाजसेवी, नागरिक समाजका प्रतिनिधि तथा मिडियाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गतहप्ता बाट सुरु गरिएको अभियानले दुईपटक बसपार्क एरिया सरसफाई गरे पनि चरणबद्धरुपमा बुटवलका सबै क्षेत्रमा सरसफाई गर्ने, सामाजिक सचेतना फैलाउने, स्वच्छ र स्वस्थ वातावरण कायम गर्न बिबिध रचनात्मक कार्यक्रम गरिने अभियान्ताहरुले बताएका छन ।
नेता तथा सामजिक अभियान्ता वसन्त श्रेष्ठको अध्यक्षतामा गठित प्रतिष्ठानको आयोजना र बिभिन्न संघसंस्था तथा सामाजिक अगुवा नागरिक समाजको सकृयतामा सुभारम्भ गरिएको अभियानलाई सबैको अपनत्व हुनेगरी सुन्दर सफा र हरियाली बुटवलको पहिचान मार्फत देशै भरि सन्देश प्रवाह गरिने आयोजकले बताएकाछन ।
संस्थाले बुटवललाई स्वच्छ र स्वस्थ सहर बनाउने लक्ष्यसहित अभियानलाई निरन्तर अगाडि बढाइने जानकारी दिँदै सबै सरोकारवालालाई अभियानमा साथ दिन समेत आग्रह गरेको छ।