
काठमाडौँ
चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, रेमिट्यान्स ३५.६ प्रतिशत बढेर ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
२०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले मात्र बढेको थियो ।
साथै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७०० अर्ब ४३ करोडभन्दा बढी हो ।
राष्ट्र बैंकका अनुसार, पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने संख्या १ लाख ९० हजार ३८४ र पुनः स्वीकृति लिने १ लाख ३५ हजार ४२५ थियो ।