Thursday January 21, 2021  |    | 

चन्द्रागिरि नगरपालिकामा: ५ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

IMG

काठमाडौं । राजधानी उपत्यका छिर्ने मुख्य गौडा चन्द्रागिरि नगरपालिकाले काठमाडौंमा ५ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गर्न लागेको छ । बाहिरबाट मान्छे लुकिछिपी आउने र महामारीलाई बेवास्ता गर्दै गए नगरलाई शिलसम्म गर्ने नगर प्रमुख घनश्याम गिरीले बताउनु भएको छ ।


नगरको वडा ४ का युवाहरुसितको भेटमा मेयर गिरीले मान्छेले महामारीको संवेदनशीलता नबुझ्दा हामीले निर्दयी निर्णयसमेत गर्नु पर्ने हुन्छ । यसका लागि शुक्रबार नगरपालिकाले विभिन्न चरणको बैठकका साथै भेटघाट गरेको छ । सम्भवत भोलि शनिबारदेखि नगरभित्र अत्यावश्यक पासबाहकबाहेक कसैलाई घर बाहिर निस्कन निषेध गरिने छ ।


चन्द्रागिरि नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४ सय ८५ लाई गरेको पिसिआर परीक्षणमा पाँच जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि लकडाउनलाई कडाइ गर्न लागेको हो । परीक्षणका लागि स्वाब लिइएकामध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी छ ।


पोजेटिभ रिपोर्ट आएकामध्ये वडा नं ९ मच्छेगाउँका एक, वडा नं १ दहचोकका एक, वडा नं १२ बलम्बुका एक र दुई सशस्त्र प्रहरी बलमा कार्यरत व्यक्ति छन् । सशस्त्रका दुईमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।


नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले नगरपालिकाभित्र तीन दिनका लागि लकडाउनलाई कडाइ गर्न लागेको जानकारी दिनुभयो । “भोलिदेखि तीन दिनसम्म नगरपालिकाभित्रका औषधि पसलबाहेक अन्य पसल र नगरपालिकाभित्र हुँदै आएका विकास निर्माणका कार्यलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो ।


बिरामी मानिस हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम राखी, स्यानेटाइजर, माक्स र पञ्जा लगाएरमात्र हिँड्न आग्रह गरिएको प्रवक्ता महर्जनले बताउनुभयो । नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै चेकजाँचको सङ्ख्यालाई समेत वृद्धि गरिएको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्